नागरिकता टोलीमा जाने कर्मचारीको गल्तीले यति धेरै उमेर देखिएको हो। ‘त्यतिबेला (नागरिकता बनाउने क्रममा) मैले के टिपाएँ,’ थीरमाया भन्छिन् ‘टिप्नेले पनि के टिपिदिए, पत्तै पाइनँ।’ उनलाई आफ्नो जन्ममिति पनि पत्तो छैन। लेखपढ गर्न नजान्ने थीरमायाले बुबा नैनबहादुरको नामबाट नागरिकता लिएको देखिन्छ। ८०–९० वर्ष उमेरकी थीरमायाका श्रीमान् ३० वर्षअगाडि नै मृत्यु भएका हुन्। छोराछोरीसँग छुट्टिएर भूकम्पले घर भत्काइदिएपछि उनी टहरोमा गुजारा चलाएर बसेकी छिन्।
बेलैमा वृद्धभत्ता नागरिकतामा उमेर धेरै देखिएकाले थीरमायाले बेलैदेखि सामाजिक सुरक्षाभत्तास्वरुप वितरण गरिने वृद्धभत्ता पाइरहेकी छन्। उनले २०५४ सालदेखि नै निरन्तर रुपमा भत्ता पाइरहेको लिखु गाउँपालिका ९ नम्बर वडा कर्मचारी पशुपति सुनुवारले बताए। ‘नागरिकतामा स्पष्टरुपमा उमेर खुलेको छ,’ सुनुवारले भने, ‘दाबी परेपछि त्यतिबेलादेखि नै वृद्धभत्ता दिइँदै आएको रहेछ।’ वृद्धभत्ता बेलैदेखि पाएकोमा थीरमाया पनि खुसी देखिन्छिन्।
आधारविना सच्चिँदैन त्रुटि लिखु गाउँपालिका ९ पोकलीकै अनिशा तामाङले घुम्ती शिविरबाट नागरिकता बनाइन्। तर पछि मात्रै उनलाई नागरिकता र डकुमेन्टको जन्ममिति फरक परेको थाहा भयो। डकुमेन्ट सच्याउन धेरैतिर सास्ती व्यहोरे पनि सफल नभएपछि उनले नागरिकताको जन्ममिति सच्याउन पाइन्। शिविरबाट वितरण गरिएको नागरिकतामा त्रुटि भएमा पढाइको एसएलसी माथिको सर्टिफिकेट आधार राखेर मात्रै सच्याउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताए। नागरिकता सच्याउनका लागि प्रमुख जिल्ला अधिकारीलाई निवेदन पेस गर्नुपर्ने उनको भनाइ छ।
Post a Comment