Latest Updates :

मान्नुहुन्छ, १८ वर्षदेखि भात खाएका छैनन् राजेश हमाल (जान्नुस राजेश हमालको वास्तविक खान यस्तो छ )

SHARE THIS POST :

अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग फिल्मकै बात गरौँ । तर, फेरि सोचेँ, हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो, नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउसम्म नियालेँ ।
उमेरले ५० वर्षमाथिको जिन्दगी बिताइरहेका उनको शरीरमा खासै बुढ्यौली देखिँदैन, अनुहारमा चाउरी भेट्न मुस्किल पर्छ । उनको शरीरमाथिको मेरो एकोहोरो हेराइमा, हमाल पनि केन्द्रित भए । फिस्स हाँसे, ‘जेन्टल’ हाँसो । अब मैले ‘टपिक’ सोच्न भ्याएँ, ‘राजेश हमालको लाइफस्टाइल’ । उनको ‘फिट एन्ड फाइन’ लाइफस्टाइलको राज खासै बाहिरिएको छैन, मिडियामा ।
हमालका सहयोगी दीपेन्द्र महतोको अर्डरमा टेबलमा कफी आइपुग्यो । एउटा कप छुट्याउँदै वेटरले भने, ‘यो चिनी नहालेको’ । दीपेन्द्रले त्यो कप हमालतिर सारिदिएर अर्कोचाहिँ मलाई दिए । चिनी नखाने बानीबाटै अब हमालको लाइफस्टाइल खोतल्न मलाई ढोका खुल्यो ।



कहिलेदेखि चिनीविनाको कफी दाइ ? मेरो प्रश्नको जवाफ फर्काए, ‘कफीमा मात्रै होइन, गुलियो, नुनिलो, पिरो र चिल्लो छाडेको धेरै वर्ष भयो ।’ उनले थप सुनाउन थाले, वर्षौँदेखि भातै खान छाडेको यथार्थ । ‘युगदेखि युगसम्ममा काम गर्दादेखि नै भात कम गर्दै आएको थिएँ । समयको अभावमा चिया, चाउचाउ, रोटी अन्डालगायत खाएर भोक टार्थेँ, सात–आठ वर्षसम्म यस्तै निरन्तरता चल्यो,’ हमालले भने, ‘यही लाइफस्टाइल चल्दै जाँदा महसुस हुन थाल्यो, खानामा भात कम गरेको त झनै फाइदा पो हुँदो रहेछ । अनि, भात खानै छाडिदिएँ ।’ १८ वर्षदेखि कहिल्यै भात नखाएको अनौठो लाइफस्टाइल हमालले सुनाए ।
कसैको सल्लाह होइन, आफ्नै अनुभवले हमालले भात त्यागेछन् । भात त्यागेपछि पेट बढ्न रोकिएको र शारीरिक स्फूर्ति बढेको अनुभव पनि बसाइमा सुनाए । मैले चासो राखेँ– दाइको घरमा आए त भातै खान नपाइने पो रहेछ ? लामो हाँसोसँगै हमालले भने, ‘पाइन्छ–पाइन्छ, मधुले त पकाएर खान्छिन् नि, तर ब्राउन राइस मात्रै हुन्छ ।’ हमाल रोकिएलगत्तै सहयोगी दीपेन्द्रले थपे, ‘झन्डै दुई दशकदेखि राजेश दाइले भात खान छाडेको धेरैलाई थाहा छैन, कार्यक्रमहरूमा जाँदा पनि सामान्य खाजा लिनुहुन्छ । भात नै आयो भने खुसुक्क एक चम्चा खाएजस्तो गरेर छाडिदिनुहुन्छ । भातसँगै रोटी र मैदाबाट बनेका परिकार केही खानुहुन्न ।’
मैले हमाललाई नै कोट्याएँ । आखिर के खान्छन् त उनी ? मैले जिज्ञासा राखेँ । उनले खानपानको दैनिकी सहजै सुनाए, ‘बिहान उठेपछि श्रीमती मधुले बेडमै हट लेमन ल्याउँछिन्, जसमा आयुर्वेदिक तितो मह अनिवार्य मिसाइएको हुन्छ । त्यसपछि दुई–तीन घन्टा कसरत गरेर शरीर ओभाएपछि विदेशी ब्रान्डका विभिन्न जुस सेवन गर्छु । ब्रेकफास्टमै हरेक दिन एउटा स्याउ खाएकै हुन्छु ।’ आडैमा रहेका दीपेन्द्रले बीचमै बोले, ‘दाइले विदेश जाँदा जुसहरू धेरै ल्याउनुहुन्छ । ब्रेकफास्टमा स्याउ नभएको वेला परे मौसमी फलफूल लिनुहुन्छ ।’
हमालको लाइफस्टाइलका गोप्य पाटा खुल्दै थिए । उनी हतारो महसुस पनि गरिरहेका थिए । तर, म अझै खोतल्न जोड लगाइरहेको थिएँ । हमाल र दीपेन्द्रका कुरा सकिएपछि समय ‘होल्ड’ हुन नदिने कोसिस गरिरहेको थिएँ । ‘दाइले दिउँसोचाहिँ के खानुहुन्छ त ?’ मैले सोधेँ । उनले भने, ‘दिनभरमा तीनदेखि पाँचवटा अन्डा खान्छु, पहेँलो भाग फालेर । मकै, भटमासलगायत मिसाएर बनाएको सातु, हल्का काजु र किसमिस नियमित खान्छु ।’ तर, सुटिङका वेला पनि यो सम्भव हुन्छ त ? प्रश्न खस्न नपाउँदै दीपेन्द्र बोले, ‘सुटिङमा निस्किँदा दाइले खाने सबै कुरा घरबाटै तयार गरेर लगिन्छ, पानीसमेत ।’
बाहिरको खाना सकेसम्म नखाने अभिनेता हमाललाई घरको खानामा हरियो सागपात, गेडागुडी, माछा र चिकेनजस्ता परिकार चाहिन्छ । खसीको रातो मासु भने चटक्कै छाडेका रहेछन् । सहयोगी दीपेन्द्रले भने, ‘दाइ पहिलेभन्दा अहिले झन् बढी व्यस्त हुनुहुन्छ, फिल्ममा केही पातलिए पनि देश–विदेशका कार्यक्रमहरूमा उपस्थित हुनुपर्दा व्यस्तता बढेको छ ।’
हमाल हतारिएपछि पनि १५ मिनेटसम्म गफ तन्काएर मैले रोकेको थिएँ । अब, एउटै जवाफ लिएर बिदाइ गर्ने सुरमा म पुगेँ । खानामा यति धेरै ‘कन्सस’ तपाईं पिउने सवालमा दिलदार हुनुहुन्छ ? लामो हाँसो हाँस्दै हमालले दिलै खोलेर सुनाए, ‘हो म पिउँथेँ, युगदेखि युगसम्ममा खेल्नुभन्दा अघि गज्जबले पिउँथेँ । तर, त्यसपछि भने चटक्कै छोडेको हुँ । मद्यपान मात्रै मोइन, धूम्रपान, सुर्ती र पान सेवन पनि पूर्ण रूपमा त्यागिसकेको छु ।’ रेस्टुरेन्टको बसाइ टुंगियो, अर्को भेटमा अर्को कुराकानी गर्ने वाचासहित ।
रामजी ज्ञवाली
नयाँ पत्रिकाबाट

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger