Latest Updates :

मन्त्रीकै पीएको संलग्नमा १५ करोडको जग्गा हडप्न अपहरण

SHARE THIS POST :
११ बैशाख, झापा । करोडौं मूल्य पर्ने जग्गा हडप्नका लागि भएको अहपरणमा सञ्चारमन्त्रीका स्वकीय सचिवसमेत संलग्न रहेको भेटिएको छ । अपहरणका योजनाकार भने पत्रकार भएको खुलेको छ । अपहरण काण्डमा सञ्चारकर्मी, माओवादी र कांग्रेसका कार्यकर्ताको समेत संलग्नता रहेको प्रहरीको दाबी छ ।झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्नका लागि जीवन विष्टलाई अपहरण गरिएको थियो ।
प्रहरीका अनुसार अपहरण काण्डमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य -अग्नि), सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरे, माउन्टेन टीभीका झापा प्रतिनिधि शम्भु दाहाल, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटीलगायतको संलग्नता भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरु अहिले फरार छन् । उनीहरु भारतमा लुकेर बसेको हुनसक्ने प्रहरीको आशंका छ ।
चार जना सार्वजनिक
घटना संलग्न भएको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सोमबार भद्रपुरमा पत्रकार सम्मेलन गरी कांग्रेस कार्यकर्ता मेचीनगर-६ निवासी ४२ वर्षीय भूपू कान्छा नामले चिनिने भूपू राई, भद्रपुर-७ का ४३ वर्षीय तेजेन्द्र न्यौपाने, भद्रपुर-६ का ४० वर्षीय प्रेम न्यौपाने र मेचीनगर-४ का ४४ वर्षीय राजु कुँवरलाई सार्वजनिक गरेको हो ।
भूपू कांग्रेस कार्यकर्ता हुन् भने तेजेन्द्र जिल्ला प्रशासन कार्यालय, झापाका खरिदार र प्रेम भद्रपुरका व्यवसायी हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी सैलेश थापाका अनुसार अनारमनी-४ मा रहेको कित्ता नम्बर १६९ र १७० को लगभग ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरी हडप्न खोजिएको थियो ।
गत माघ १३ गते बिर्तामोडको एभरेष्ट होटलबाट आफूलाई अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धन बनाएर जग्गा हडपेको भन्दै विष्टले इलाका प्रहरी कार्यालय, बिर्तामोडमा चैत २५ गते जाहेरी दिएका थिए ।
यसरी बन्यो अपहरणको योजना
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार पत्रकार पुजन घिमिरे हुन् । जग्गाधनी जीवन बिष्ट गैरनेपाली हुन सक्ने भन्दै घिमिरेले ब्ल्याकमेल गर्ने योजना बनाएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ ।
घिमिरे र बिर्तामोडका ओम शिवाकोटीले असार १९ गते होटल सञ्चालनका लागि ५ वर्षका लागि जग्गा भाडामा लिएका थिए । त्यसको केही समयपछि विष्टलाई १० वर्षे सम्झौताका लागि उनीहरुले आग्रह गरे ।
माघ १२ गते १० वर्षका लागि जग्गा सम्झौता गर्न बिर्तामोड आएका विष्टलाई उनीहरुले बन्धक बनाएको प्रहरीको भनाइ छ ।
बाहुनडाँगीका राजु कुँवरले माघ २० गते मालपोतबाट आएका डोरलाई जग्गाधनी आफू भएको भन्दै भऽपुरका प्रेम न्यौपानेका नाममा जग्गा नामसारी गर्न भनेपछि जग्गा पास भएको थियो ।
जग्गाधनी जीवन विष्टको नाममा राजु कुँवरको फोटो टाँसी कीर्ते नागरिकता पनि तयार गरिएको भेटिएको छ ।
कांग्रेस कार्यकर्ता भूपू ‘डन’ !
बिष्टलाई तर्साउनका डनको रुपमा चिनिएका भूपू कान्छालाई प्रयोग गरिएको प्रहरी बताउँछ । राजु आचार्य जग्गा नामसारी गर्दा साक्षी बसेको तथा बाँडफाँडमा अंशीयारी रहेको प्रहरीको भनाइ छ ।
साथै, शम्भु दाहालले साक्षी बसेर पैसासमेत लिएको प्रहरीले जनाएको छ ।
अदालतबाट आरोप पुष्टि भए मानव अपहरण तथा शरीर बन्धक मुद्दामा ७ वर्षदेखि १५ वर्षसम्म जेल र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था छ ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger