Latest Updates :

तीर्थयात्री सवार बस दुर्घटना, पाँचको मृत्यु

SHARE THIS POST :

पाली सेनाको हेलिकोप्टर मार्फत् थप उपचारका लागि घाइतेलाई पोखरा लगिदैँ । तस्बिर सौजन्यः निरज थकाली  बेनी : हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको केन्द मानिने प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शन गरी फर्कदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० घाइते भएका छन्। घाइतेमध्ये १२ जनाको अवस्था चिन्ताजनक छ।

शनिबार साढे १२ बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल ल्याउँदा बाटोमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। पाँचै जना बसले च्यापिएर मृत्यु भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ सुविधानगरका ५८ बर्षीय भोला अधिकारी, काठमाडौँ कोटेश्वरका ४२ बर्षीय पुरुषोत्तम ढकाल, महालक्ष्मी नगरपालिका–२ ललितपुरकी ५५ बर्षीया लिला खड्का, चाँगुनारायण–८ भक्तपुरकी सीता तिमल्सिना र कागेश्वरी–३ थानकोटकी शान्ति खड्का रहेको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरिहर योगीले जानकारी दिए। ‘काठमाडौँबाट मुक्तिनाथ दर्शनका लागि आएको बस दुर्घटनामा परेको छ,

 मृतक सबैको शव अस्पतालमा राखिएको छ, काठमाडौँबाट आफन्त आएपछि उनीहरुलाई बुझाउने तयारी छ’, उनले भने। कागबेनी भन्दा दुई किलोमिटर अघि मुक्तिनाथ क्षेत्रको घुम्तीमा बस दुर्घटना भएको थियो। ‘घुम्ती त्यति असजिलो पनि छैन।

 तर, माथिबाट तल्लो खण्डमा खसेको देखिन्छ’, प्रहरी हवल्दार शिव भण्डारीले भने, ‘त्यो खण्डबाट पनि तल खसेको भए अझ ठूलो मानवीय क्षति हुने थियो।’ दुर्घटनामा गम्भीर घाइते भएका १२ जनाको जिल्ला अस्पताल मुस्ताङमा प्राथामिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत पोखरा लगिएको छ। उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 दुर्घटना लगत्तै प्रहरी, जोमसोमस्थित सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय यातायात व्यवसायी उद्दारमा खटेका थिए। सामान्य घाइतेहरुको जोमसोमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको हवल्दार भण्डारीले जानकारी दिए। कागबेनीमा दिवंगत आफन्तजनको सम्झनामा पिण्ड तर्पण गर्न र मुक्तिनाथ दर्शन गर्न यतिबेला नेपाली र भारतीय पर्यटकको चाप उच्च छ।

काठमाडौँ, पोखरा जस्ता प्रमुख शहरबाट सीधा जोमसोम, कागबेनी र मुक्तिनाथसम्म जीप र बस सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीको संख्या बढेको छ। २६ सीटको बस भएपनि ३५ जना तीर्थयात्री सवार थिए। चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सवारी चालक म्याग्दीका किसान केसी गम्भीर घाइते छन्। उनको प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger