Latest Updates :

राप्रपाको कार्यक्रममा ‘हिन्दु स्वयंसेवक’को घुसपैठ भएको प्रहरी निश्कर्ष

SHARE THIS POST :
८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा हिन्दु स्वयंसेवकहरुको घुसपैठ भएको प्रहरीले निश्कर्ष निकालेको छ । यही घुसपैठकै कारण सोमबार राजधानीमा अप्रिय घटना भएको प्रहरीको दाबी छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सोमबार काठमाडौंमा सोमबार भएको प्रहरी र राप्रपा कार्यकर्तावीचको झडपमा राप्रपा कार्यकर्ताले हानेको ढुंगाबाट दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरीका विनोद घिमिरे र जनपथ तर्फका सरोज थुङयेन छन् । उनीहरुको अवस्था सामान्य छ ।
सत्तारुढ दलकै कार्यक्रम भएकाले कुनै हुलदंगा नहुने आफूहरुले विश्वास लिएको तर जुलुसमा घुसेका हिन्दु स्वयंसेवकहरुले नियोजित रुपमा मुठभेड गराएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
काठमाडौं परिसरका एक प्रहरी अधिकारीका अनुसार हिन्दु स्वयंसेवक कार्यकर्ताले सुरुमा प्रहरीको बेरियर तोड्न खोजेका थिए । त्यसपछि उनीहरुले प्रहरीमाथि ढुंगा हान्न सुरु गरेका थिए ।
यद्यपि राप्रपा नेताहरुले त शान्तिपूर्ण कार्यक्रममा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको आरोप लगाएका छन् नि ? अनलाइनखबरको यो प्रश्नमा ती प्रहरी अधिकारीले
भने, ‘घटनाका दृश्यहरु हेर्नोस् न, उनीहरुले प्रहरीमाथि कसरी ढुंगा प्रहार गरेका थिए, थाहा भइहाल्छ नि । ढुंगाले लागेर हाम्रा प्रहरी घाइतेसमेत भएका छन् ।’
पशुपति र कोमल ओलीलाई केही नभएको दाबी
यसैवीच प्रहरीले राप्रपा नेता पशुपति समशेर राणाको खुट्टामा प्रहरीको लाठीले नभई बेरियरको तारले लागेर चोट लागेको दाबी गरेको छ ।
त्यस्तै कोमल ओलीको शरीरमा पनि कुनै चोट नलागेको र उनी अश्रुग्यास सर्केर ढलेको प्रहरीको दाबी छ । प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पशुपतिजीलाई आफ्नै कार्यकर्ताले तानेको बेरिकेटको तारले लागेर सामान्य चोट लागेको हो, अस्पतालमा कम्मल ओढेको कोमल ओलीजीको तस्वीर आएको छ, उहाँलाई चोट लागेकै छैन, अश्रुग्यास नाकले तानेका कारण ढलेकी मात्रै हुन् ।’
पशुपति र प्रहरी प्रमुखवीच फोनवार्ता
यसैवीच सोमबारको घटनालाई लिएर मंगलबार बिहान राप्रपा नेता र काठमाडौंका प्रहरी प्रमुख छविलाल जोशीवीच फोनवार्ता भएको प्रहरी स्रोतले अनलाइनखबरलाई जानकारी दियो । फोन वार्तामा राणाले आफ्नो पार्टीका तर्फबाट पनि केही कमजोरी भएको स्वीकार गर्दै अवदेखि त्यस्तो कमजोरी हुन नदिने बताएको प्रहरी स्रोतको दाबी छ ।
जुलुसमा घुसेका हिन्दु स्वयंसेवकका युवाहरुले प्रहरीमाथि ढुंगा हानेकाले अप्रिय घटना भएको भन्दै प्रहरी प्रमुख जोशीले राणालाई सचेत गराएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
कुराकानीका क्रममा राणाले पनि प्रहरीहरुसँग आफ्नो कुनै गुनासो नरहेको जोशीलाई बताएका थिए ।

SHARE THIS POST :

Post a Comment

 
Support : Mas Template
Copyright © 2017. ndtvkhabar
Proudly powered by Blogger